सेन्टी भाइरसले दुई दिनमै कमायो दुई करोड ४७ लाख

मनाेरंजन

९ फागुनबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले आक्रामक व्यापार गरेको छ।

प्रदर्शनमा आएको दुई दिनमै दुई करोड ४७ लाखको व्यापार गरेको हो।

पहिलो दिन एक करोड १२ लाखको व्यापार गरेको सेन्टी भाइरसले दोस्रो दिन एक करोड ३५ लाखको व्यापार गरेको हो ।

पहिलो दिन चलचित्रले काठमाडौं उपत्यकाभित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको थियो।  देशभरबाट २३ लाख बढीको व्यापार गरेको निर्माण पक्षले जनाएको छ।

पहिलाे र दाेस्राे दिन निर्माण पक्ष काठमाडौंको विभिन्न हलमा पुगेको थियो, जहाँ दर्शकको उपस्थिति बाक्लो थियो।

बिहानी शोका अधिकांश शोहरू हाउसफुल थिए। त्यस्तै दिउँसो शोजहरूले दर्शकको राम्रो साथ पाएको निर्माण पक्षले जनाएको छ।

चलचित्रलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

अधिकांश दर्शकले कथा सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न चलचित्र हेर्न आएको प्रतिक्रिया दिएका छन्।

धुर्मुस–सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा सीताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’ सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय छ।

सँगै रिलिज भएको चलचित्र ‘आमा’ ले पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। दीपेन्द्र के खनालको निर्देशनमा रहेको यो चलचित्रले उत्कृष्ट भएको समीक्षा भइरहेकाे छ।

चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा छिन्। नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन्। ‘सेन्टी भाइरस’ले प्रत्येक दिनको आम्दानी सार्वजनिक गरे पनि ‘आमा’ले भने सार्वजनिक गरेको छैन।