हिंसा र क्रान्तिका पनि ठेकेदार !

नेपाल समाचार
  • देवप्रकाश त्रिपाठी

संसारभरिका मानिस हिंसा चाहँदैनन् र सबैले हिंसाको विरोध गरिरहेका हुन्छन् । कुनै पनि सभ्य प्राणीबाट हिंसाको समर्थन हुन सक्दैन । तर, अहिंसाप्रतिको प्रेम तिनले दर्शाएको स्वाभाविक र अपेक्षित हुन्छ, जो कहिल्यै हिंसात्मक क्रियाकलापमा संलग्न नभएका हुन्, जसको सिङ्गै जीवन–पद्धति र जीवन दर्शन नै अहिंसात्मक होस् ।

जङ्गलमा हरिणले अहिंसाको पक्षमा ऐक्यबद्धता जाहेर गरे भने त्यसलाई शोभनीय मानिन्छ, तर ब्वाँसाहरूले समेत अहिंसाको गीत गाउन थाले भने त्यसको सीधा अर्थ ब्वाँसाहरूले असुरक्षित महसुस गरेछन् भन्ने हुन्छ । राजनीतिमा पनि हिंसाको विरोध र अहिंसाको पक्षपोषण गरेको तिनलाई सुहाउँछ जो कहिल्यै हिंसाको पक्षमा थिएनन् । सक्नेजति विध्वंश र हिंसा गरिसकेपछि आफू सुरक्षित हुनकै निमित्त मात्र अहिंसाको सहारा लिन खोज्दा हुँडारले शान्तिगीत गाएजस्तो हुँदो रहेछ ।

राजनीतिक परिवर्तन या क्रान्ति पनि आफूले मात्र गर्न पाउनुपर्छ र अरू कसैले क्रान्ति या परिवर्तनको कुरा गर्छ भने त्यसलाई अपराधको संज्ञा दिइनुपर्छ भन्ने मान्यता कसैले राख्छ भने त्यसलाई कति जायज मान्न सकिन्छ ? नेपाली राजनीतिमा विकसित घटनाक्रमले यस्तै प्रश्न उठाएको छ । क्रान्ति बीपी कोइरालाले २००७ सालमा र गणेशमान–कृष्णप्रसाद भट्टराईहरूले २०४६ सालमै सम्पन्न गरिसकेका थिए । विश्व प्रजातान्त्रिक आन्दोलनको जननी मानिएको बेलायती अनुकरणको प्रजातन्त्र नेपालमा स्थापित भइसकेपछि त्यसविरुद्ध हिंसात्मक सङ्घर्ष गर्नु क्रान्ति थियो कि प्रतिक्रान्ति– त्यसको मूल्याङ्कन इतिहासले गर्दै गर्ला । तर, जसले जुन गन्तव्य देखाएर हिंसात्मक विध्वंश मच्चाएका थिए, जसरी समाज र मुलुकलाई ‘प्यारालाइज’ गरेका थिए, त्यही अभीष्ट पूरा गर्न भन्दै तिनकै सहकर्मी/सहयात्रीहरू अग्रसर हुनुलाई न्यायोचित नभए पनि स्वाभाविक मान्नुपर्ने हो कि होइन ?

माओवादी हिंसा पूर्णविराम लाग्ने विश्वासमा त्यसका नेताहरूलाई खुला राजनीतिमा अवसरहरूको चाङ लगाइएको हो । फेरि पनि त्यही नाम र निहुँमा हिंसात्मक गतिविधि कायम रहन्छ भने त्यसको नैतिक जिम्मेवारी पुराना युद्ध कमान्डरहरूले लिनुपर्ने हो कि होइन ? हिंसा र तनावले निरन्तरता पाउँछ भन्ने ठानिएको भए न शान्तिसम्झौतामा संसदवादी भनिएका दलहरू सहभागी हुन सक्थे, न जनता नै सम्झौताको मौन अनुमोदन गर्न तयार हुने थिए ।

हिंसात्मक विध्वंशका खासखास नाइकेहरूलाई ज्यालामा विदेशी एजेण्डाको माला भिरेर आफूलाई सत्ताको मालिक बनाउने यात्रामा हिँडेको जानकारी हुँदो हो, सङ्घर्षमा सहभागी सबै अवश्य पनि प्रधानमन्त्री पदका निम्ति लालायित थिएनन् । देशको र आफ्नै सुन्दर भविष्यको सपना देखेर हिंसात्मक सङ्घर्षमा सामेल हुनेहरूको सङ्ख्या नै ठूलो थियो भन्ने हामीले बुझ्नुपर्छ । यस सन्दर्भमा स्पष्ट हुनुपर्ने तथ्यहरू के हुन् भने पहिलो, यदि हिंसात्मक साधन प्रयोग गरेर कसैले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्छन् भने त्यस्तो मुलुकमा आफ्ना निजी महत्वाकाङ्क्षा पूर्ति गर्न अनेकौँ व्यक्ति र समूह हिंसाका निम्ति प्रेरित हुन्छन् । दोस्रो, कसैले नयाँ जनवादी क्रान्तिलाई अभीष्ट बनाएर हिंसात्मक सङ्घर्ष शुरु गर्छन् र गन्तव्यसम्म नपुग्दै सम्झौतामा टुङ्ग्याउँछन् भने त्यतिबेला तिनैमध्येबाट कसैले आफ्ना क्रियाकलापलाई निरन्तरता दिन खोज्छन्, विश्वमा यस्ता अनेक दृष्टान्त छन् ।

अर्को स्मरणीय पक्ष के हो भने जहाँ कम्युनिस्टले राज्यसत्ता हात पार्छन् त्यहाँ प्रजातन्त्रका निम्ति अर्को आन्दोलनको गुन्जाइस जहिले पनि रहन्छ । चुनावी माध्यमबाट सत्ता हात पार्ने कम्युनिस्ट ज्योति बसुलाई सत्ताबाट विस्थापित गर्न पैंतीस वर्ष लागेको र कम्युनिस्ट सत्ताका सर्वोपरी बनेका निकोलाई चाउचेस्कु (रुमेनिया) लाई जनताले सडकमै इहलीला समाप्त पारिदिनुपरेको जस्ता घटनाले कम्युनिस्टहरूको हातमा सत्तामा पुग्नु भनेकै अर्को क्रान्तिलाई निम्ता दिनु हो भन्ने स्पष्ट गरेको छ । कम्युनिस्ट सत्ता अर्को क्रान्ति नभइन्जेलका लागि हो भन्ने तथ्यको पुष्टि रसिया र रुमेनियालगायतको इतिहासले गरिसकेको छ ।

नेपालमा ०५२ मा शुरु भएको हिंसात्मक विध्वंशका पछिल्तिर काङ्ग्रेसका रामचन्द्र पौडेलहरू ‘निर्मल निवास’ देख्थे । तिनै रामचन्द्रहरू केही समयको अन्तरालमै ‘निर्मल निवासवाला’ भनिएकाहरूसँग गठबन्धन गर्दै तिनका एजेण्डाको भरिया बन्न तयार भए । सत्ताका नयाँ मालिकहरू नेत्रविक्रम चन्दहरूमाथि ठीक त्यस्तै आरोप लगाउँदै छन्, जुन हिजो गिरिजा र रामचन्द्रहरू लगाउने गर्दथे ।

नेपालमा ०५२ मा शुरु भएको हिंसात्मक विध्वंशका पछिल्तिर काङ्ग्रेसका रामचन्द्र पौडेलहरू ‘निर्मल निवास’ देख्थे । तिनै रामचन्द्रहरू केही समयको अन्तरालमै ‘निर्मल निवासवाला’ भनिएकाहरूसँग गठबन्धन गर्दै तिनका एजेण्डाको भरिया बन्न तयार भए । सत्ताका नयाँ मालिकहरू नेत्रविक्रम चन्दहरूमाथि ठीक त्यस्तै आरोप लगाउँदै छन्, जुन हिजो गिरिजा र रामचन्द्रहरू लगाउने गर्दथे । ०६३ सालमा विदेशीद्वारा भिराइएका राष्ट्रद्रोही एजेण्डाहरू भित्र्याइँदा देशमा स्थायी शान्ति वहाल हुने र मुलुक समृद्धिको दिशातर्फ गति लिने विश्वासमा नेपाली जनता थिए । तर, त्यो क्रान्ति नभएर एउटा झेल र नेपाललाई जगैदेखि ध्वंश गर्ने कपटी चाल मात्र भएको समयाक्रममा पुष्टि भइनै सकेको छ ।

स्वर्ग पुऱ्याउने सपना देखाएर गलामा भिराइएको गोमन सर्पको माला फाल्न जनता तम्तयार हुन खोज्दै छन्, तिनै जनताको उत्साहका निम्ति नेत्रविक्रम चन्दहरू देशद्रोहीहरूका विरुद्ध जाग्न खोजेका हुन् भने उनीहरूको सोच पूराका पूरा गलत भएको निष्कर्षमा कसरी पुग्ने ? हो, कसैद्वारा कुनै पनि निहुँमा गरिने हिंसा ग्राह्य हुन सक्दैन र यसर्थमा नेत्रविक्रमहरूद्वारा गरिने हिंसा पनि स्वीकार्य हुन्न । तर, नेत्रविक्रमहरूलाई हिंसाबाट विमुख गराउन हिजोका हिंसा नायकहरूले सबैभन्दा पहिले आफ्नो अपराधका लागि जनतासमक्ष माफी माग्नुपर्ने होइन र ? त्यसपछि क्रान्तिका नाममा भएका आपराधिक घटनाका नाइकेहरूलाई अनुसन्धान र कानुनी कारबाहीको दायरामा ल्याउन तयार हुनुपर्ने होइन र ?

आज राजनीतिक परिवर्तनले पूर्णता पाएको दाबी कसैले गरिरहेका छन् भने हिजो २०४७ सालको संविधानलाई पनि विश्वको उत्कृष्ट भन्दै काङ्ग्रेस–कम्युनिस्ट रमाएकै हुन् । तीन दशक लामो सङ्घर्षको परिणामका रूपमा आएको सर्वस्वीकार्य संविधान १२ वर्ष नपुग्दै सबैका निम्ति किन अस्वीकार्य बनेको थियो भन्ने प्रश्नमा विचार गर्दा यतिबेला हामीलाई उपलब्ध संविधान र राजनीतिक प्रणालीले स्थायित्व पाउने कुरामा पनि प्रश्न उठ्नु स्वाभाविक हुन्छ । ०६३ को परिवर्तनका अगुवाहरू इमानदार, देशकेन्द्रित र समृद्धिउन्मुख मार्गमा अविचलित ढङ्गले क्रियाशील हुन सकेका भए वर्तमानको विकल्प सोच्नु अवाञ्छित ठहर हुन सक्थ्यो ।

माओवादीसिर्जित हिंसा अन्त्य हुने अर्थमा जे–जस्ता एजेण्डाहरूमा हिजो मौनता कायम राखिएको थियो, अब मौनता तोड्ने क्रमारम्भ भएको छ । एकातिर राष्ट्रवादी तथा प्रजातन्त्रवादी शक्तिहरू जुर्मुराउने पृष्ठभूमि बनिसकेको छ भने अर्कोतर्फ राष्ट्रवादी क्रान्तिकारीहरू पनि आफ्नो लक्ष्य भेदनका निम्ति क्रियाशील भएको देखिँदै छ । सत्ता स्वादमा रम्नेहरूबाहेक अरू कसैले विद्यमान अवस्था–व्यवस्थाप्रति सकारात्मक मत जाहेर गर्ने स्थिति रहेन । अनेकौँ विचार समूहका राष्ट्रवादी शक्तिहरू जुर्मुराउन थालेपछि सत्तासीनहरूले तात्कालिक राजा ज्ञानेन्द्रको अनुहारमा विप्लव र विप्लवको अनुहारमा ‘राजा’ देख्न थालेका छन् । त्यसैले सरकारी पक्ष दुवै शक्तिविरुद्ध आवेग प्रकट गर्दै छन् । विप्लव समूहमाथि कठोर ढङ्गले प्रस्तुत हुन सकिने आधार (हिंसात्मक घटना) भेटिएको हुनाले नियन्त्रण र गिरफ्तारीका प्रक्रिया शुरु भएका हुन् । ‘राजा’लाई पनि नियन्त्रण गर्न मिल्ने कुनै ‘कारण’ फेला परेको भए उनीविरुद्ध पनि अनेक मुद्दा चल्न–चलाइन सम्भव थियो ।

कम्युनिस्ट पार्टी र तिनका नेता–कार्यकर्तालाई देश बनाउने सुवर्ण अवसर प्राप्त भएको त हो, तर उनीहरू अवसरको सदुपयोग गर्दै छैनन् । आलोचकहरूलाई तर्साउने–सताउने र समर्थकहरूलाई मात्र अवसर उपलब्ध गराउनेजस्तो तुच्छ काम गरेर दिन गुजारिरहेका छन् । देशको राष्ट्रियता र राष्ट्रिय एकता बलियो भयो भने, मुलुकले आर्थिक समृद्धिको मार्ग तय गऱ्यो भने, शासन–प्रशासनमा रहनेहरूबाट भ्रष्टाचार हुन छोड्यो भने र जनजनले आफ्नो जीवनमा सकारात्मक परिवर्तनको महसुस गर्न थाले भने संविधान, शासन, सत्ता र सान टिकाउनका निम्ति भनेर बेग्लै योजना तथा कार्यक्रम बनाइरहनुपर्दैन ।

स्वर्ग पुऱ्याउने सपना देखाएर गलामा भिराइएको गोमन सर्पको माला फाल्न जनता तम्तयार हुन खोज्दै छन्, तिनै जनताको उत्साहका निम्ति नेत्रविक्रम चन्दहरू देशद्रोहीहरूका विरुद्ध जाग्न खोजेका हुन् भने उनीहरूको सोच पूराका पूरा गलत भएको निष्कर्षमा कसरी पुग्ने ?

राज्यका सबै निकायमा पकड बलियो बनाउने र असहमत पक्षलाई निषेध गर्ने काम अस्ति राणाले गरेका थिए, हिजो पञ्चायतको रक्षा गर्ने नाममा पनि यस्तै भएको थियो । आफ्नो पक्षको मात्र पोषण गर्ने, आफ्नो नठानिएकाहरूलाई निषेध गर्ने सोच प्रजातान्त्रिक मूल्यमान्यताअनुरूप होइन र यस्तो प्रवृत्तिले जनहित तथा प्रजातन्त्रको रक्षा गर्न पनि सक्दैन । विप्लवलाई बिच्क्याएर र ‘राजा’लाई तर्साएर समृद्ध नेपाल बनाउने सपना देखिएको हो भने यो सोम शर्माको कथाभन्दा भिन्न हुनेछैन ।

चिनियाँ प्रजातन्त्रवादी नेता च्याङ काई सेकले ‘जीवनको सबैभन्दा ठूलो गल्ती माओहरूसँग संवाद र सहमति गर्नु हो’ भनी आफ्नो संस्मरणमा लेखेका छन् र, यसबारे नेपालका काङ्ग्रेस नेताबाहेक संसारका सबैजसो राजनीतिकर्मीहरूले जानकारी राखेका हुन सक्छन् । माओवादीको हिंसात्मक युद्ध या त चीन र भियतनाममा जस्तो जितेर टुङ्गिन्छ या इन्डोनेसिया, पेरू, थाइल्यान्ड र मलेसियालगायतका मुलुकमा झैं हारेर टुङ्गिन्छ भन्ने जानकारी नेपालका कसैलाई नभएको ठान्नुचाहिँ गलत हो ।

यसप्रकारको जानकारी हुँदाहुँदै पनि माओवादी समस्याको समाधान त्यसबेला (२०६२ तिर) संवाद र सहमतिमार्फत खोजिएको थियो । सहमतिमार्फत समाधान नखोजिएको भए वर्तमानका राजनीतिक हर्ताकर्ताहरू आज कहाँ हुन्थे या हुँदैनथे अनुमान गर्न सकिन्छ । जुन बाँदर धुरी चढेर ‘राजा’ बन्यो त्यही बाँदरले धुरी चढ्न खोज्ने अर्को बाँदरलाई बन्दुक ताकेको पर्यवेक्षकीय दृष्टिमा सहज हुँदोरहेनछ ।

क्रान्ति विद्रोह र परिवर्तनको ठेक्का ईश्वरले कास्की या झापामा जन्मिएकाहरूलाई मात्र दिएका हुन् भने त्यसको पुष्टि होस्, होइन भने हरेक समस्याको शान्तिपूर्ण समाधान खोजियोस्, देशको समय थप बर्बाद गर्ने र मुलुकलाई हिंसाको भुमरीमा होम्ने दुस्कार्य नहोस्, अहिलेलाई जनसाधारणले कामना गर्ने यत्ति नै हो ।