१ जना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च

स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक जना कोरोना संक्रमित पत्ता लगायन १ लाख ४ हजार रुपैयाँ लागत लाग्ने बताएका छन् ।

नियमित प्रेस व्रिफिङमा अहिलेसम्म पीसीआर टेष्टमा भएको खर्च विवरण प्रस्तुत गर्दै उनले हालसम्म सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिए ।

‘एक जना कोरोना भाइरसको संक्रमित पत्ता लगाउन १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसअनुसार सरकारले अहिलेसम्म पीसीआर टेष्टमा ३ अर्ब भन्दा बढी खर्च गरेको छ’, उनले भने, ‘मेरो विचारमा हामी कसैलाई गाली गरिरहनु भन्दा बढी सचेत हुन आवश्यक छ । कोरोना संक्रमितको संख्या अप्रत्याशित रुपमा बढ्यो र भयावह बन्यो पनि पछिल्ला विरामीले परीक्षण समेत नपाउने अवस्था बन्छ । त्यसैले हामी आफैं सचेत होऔं ।’

सीमित स्रोत र साधन भएको देशले यस्तो अवस्था धान्न नसक्ने उनको आशय थियो । सरकारले प्रतिव्यक्ति पीसीआर टेष्टमा ५ हजार ५०० रुपैयाँ खर्च गर्दै आएको छ । यस अनुसार पनि एकजना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च हुने उनको भनाइ छ /