२० अर्ब रुपैयाँ बजेट खर्च भएन

अर्थ तथा ब्यापार नेपाल समाचार

काठमाडौं । चालु आर्थिक वर्षमा पनि बजेट खर्चको अवस्था झन् दयनीय बन्दै गएको छ । विभिन्न मन्त्रालयलाई विनियोजन गरिएको रकम खर्च गर्न नसकेपछि अर्थमन्त्रालयलाई बजेट सरेन्डर गर्ने क्रम बढेको छ ।

चैत मसान्तसम्म खर्च नभएको रकम कानुनतः सरेन्डर गर्नुपर्छ र विभागीय मन्त्रालयले २० अर्ब रुपैयाँ बजेट खर्च गर्न नसकेर सरेन्डर गरिसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थसिमितिले आयोजना गरेको बजेट सुझाव संकलन छलफलमा बोल्दै चैत मसान्तमा खर्च नभएको बजेट विभागीय मन्त्रालयले सरेन्डर गरेको उनले बताए । छलफलमा उनले चैत मसान्तसम्म ६ खर्ब ७६ अर्ब बजेट खर्च भएको बताए ।

जसमा चालु तर्फ ४८८ अर्ब खर्च भएको छ र जुन वार्षिक लक्ष्यको करिब ५१ प्र्रतिशत भएको उनले बताए । पुँजीगततर्फ करिब १०५ अर्ब खर्च भएको र जुन वार्षिक लक्ष्यको करिब २६ प्रतिशत मात्रै भएको उनको भनाइ छ । त्यस्तै वित्तीय व्यवस्था तर्फ ८४ अर्ब खर्च भएको छ, जुन वार्षिक लक्ष्यको ५० प्रतिशत मात्रै खर्च भएको उनले बताए ।

सरकार आन्तरिक स्रोत उठाउन दबाबमा रहेको बताएका अर्थमन्त्री खतिवडाले बाह्य स्रोत परिचालनमा केन्द्रित भएको बताए । सरकारले करिब डेढ खर्बको विदेशी सहायतामा सम्झौता गरेको र थप सम्झौता गर्ने चरणमा रहेको उनले बताए । आन्तरिक स्रोतमा हाँसिल हुन नसकेको लक्ष्यको परिपूर्ति बाह्य स्रोतबाट हुने अर्थमन्त्री खतिवडाको दाबी छ ।

आजबाट आगामी बजेटलाई सुझाव संकलन छलफल सुरु गरेको अर्थसमितिले एक सातासम्म लगातार छलफल गरेर सरकारलाई बजेट अगाडि नै एकमुष्ट सुझाव दिने अर्थसमितिले जनाएको छ ।