६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडाैँ, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज भियतनाम प्रस्थान गरेका छन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार नेपाल वायुसेवा निगमको विमानमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू र उच्च पदस्त व्यक्तिहरूले बिदाइ गरे ।

बिदाई कार्यक्रममा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।

प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् । त्यहाँ ३० गतेसम्म व्यस्त रहनेछन् । भियनतामको भ्रमण सकाएर ३० गेते नै कम्बोडिया लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम छ ।

दुबै देशको भ्रमणमा रहँदा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा‍. राजन भट्टराई भ्रमण दलमा छन् ।

यसैगरी, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा. दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत, परराष्ट्रका सहसचिव तापस अधिकारी, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल लगायत पनि भ्रमण टोलीमा छन्।