७ वर्षका बालक सहित शुक्रबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिए

नेपाल समाचार स्वास्थ्य

विराटनगर । शुक्रबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाका अनुसार झापामा ११ जना, मोरङमा ६ जना, सुनसरीमा १७ जना, भोजपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङका संक्रमित सबै रतुवामाई नगरपालिकाका हुन् । सुनसरीमा भोक्राह नरसिंह गाउँपालिकामा १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बराहक्षेत्रमा संक्रमित व्यक्ति ७ वर्षका बालक हुन् ।

भोजपुरका सबै ५ जना संक्रमित षडानन्द गाउँपालिकाका हुन् । विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

शुक्रबार ३९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४० पुगेको छ । ती मध्ये ७८ जना उपचारपछि निको भएका छन् ।